काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले माओवादी विचारमा रहेका सम्पूर्ण जनता तथा पार्टीहरू एकताबद्ध भएर अगाडि बढेकाले अब प्रचण्ड नेतृत्वको पार्टी एक नम्बरको बन्ने विश्वास व्यक्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) ललितपुर जिल्लाका ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाको अधिवेशन उद्घाटनका क्रममा पार्टीका स्थायी समितिका सदस्यसमेत रहनु भएको भुसालले भन्नुभयो, “माओवादी एकताबद्ध भएको छ, परिवर्तनको नेतृत्व गर्ने माओवादी नै हो भन्ने प्रमाणित भएकाले अब माओवादी एक नम्बरको पार्टी हुन्छ ।”


सम्पूर्ण माओवादी शक्ति एकीकृत भइरहेको उल्लेख गर्दै नेत्री भुसालले क्रान्तिकारीपन सहित पार्टीलाई व्यवस्थित गरेर लैजानका लागि सेलदेखि वडा र वडादेखि पालिका तथा पालिका हुँदै महाधिवेशनसम्म पुग्दा देशको पार्टीले २१ औँ शताब्दीको तेस्रो दशकमा कम्युनिस्टहरूका लागि स्पष्ट खाका तय गर्ने विश्वास व्यक्त गर्नुभयो । एकीकृत माओवादीले तय गर्ने समाजवादले देश विकासको आधार तयार गर्ने जिकिर गर्दै मन्त्री भुसालले भन्नुभयो, “राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा पार्टीले राजनीतिक कार्यदिशा स्पष्टसँग तय गर्छ ।”

मन्त्री भुसालले प्रतिगमन र प्रतिक्रान्तिकारीविरुद्ध सक्रिय भएर लाग्नुपर्नेमा जोड दिँदै जनयुद्धको जगमा लेखिएको संविधानको रक्षाका लागि गठबन्धन निर्माण गरिएको बताउनुभयो । मन्त्री भुसालले जनताको आकाङ्क्षा र चाहना बेगर आफ्नो पार्टी कुनै पनि निर्णय नलिने विश्वास दिलाउँदै आगामी दिनमा आफ्नो वर्ग र जनताको लागि निरन्तर सङ्घर्ष गरिरहने उल्लेख गर्नुभयो । रासस