काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सङ्घीयता र गणतन्त्र विरोधी भएको आरोप लगाउनुभएको छ ।

आज माओवादी केन्द्रको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै उहाँले दुईपटक संसद् विघटन गर्ने ओली संविधानसँगै गणतान्त्रिक व्यवस्था उल्ट्याउने गणतन्त्रविरोधी भएको बताउनुभएको हो । प्रतिनिधिसभा विघटन गरेर संविधानसँगै गणतन्त्र, सङ्घीयता, समावेशीता र समानुपातिक व्यवस्था नै उल्ट्याउने खालको षड्यन्त्र ओलीले गरेको उहाँको भनाइ छ । उहाँले ओली देशभित्र र बाहिरका शक्तिसँग मिलेर षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो ।

वि.सं २०७५ सालमा माओवादी र एमालेबीच एकता हुँदाको समझदारी ओलीले अस्वीकार गर्दा समस्या उत्पन्न भएको उहाँले उल्लेख गर्नुभयो । सडकबाटै प्रतिगमनको विरोध गरेको बताउँदै माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले अहिले गठबन्धन बनाएर माओवादी केन्द्र अघि बढिरहेको जानकारी समेत गराउनुभएको छ । सङ्घमा मात्रै नभई प्रदेशमा समेत नयाँ सरकार बनेको भन्दै उहाँले अहिले आफूहरू पार्टी पुनर्निर्माणमा लागिपरेको बताउनुभयो ।