चितवन – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर लोकतन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, केपी ओलीजी, अरु बामपन्थी साथीहरु र हामी पनि सँगै जेल बसेको हो, म पनि जेल बसेकै हो त्यसरी ल्याएको प्रजातन्त्र हो, हामी सबै मिलेर यसको रक्षा गर्नुपर्छ ।

प्रधानमन्त्री देउवाले सबैको प्रयास र सङ्घर्षबाट देशमा लोकतान्त्रिक संविधान जारी भएको र सो संविधानबमोजिम हामी सङ्घीय शासन प्रणालीमा गएकाले यसमा सबै लाग्नुपर्नेे बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपाली काङ्ग्रेस सधैँ लोकतान्त्रिक शासन पद्दतिको पक्षमा रहेको र हाल आफूले नेतृत्व गरेको सरकार पनि लोकतन्त्रको रक्षाका लागि लाग्ने भन्दै लोकतन्त्रका लागि सरकारलाई एमालेको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उहाँले अहिले आफूले नेतृत्व गरेको सरकारले नागरिकलाई कोरोना महामारीबाट बचाउन खोपको व्यवस्थालाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो । सरकारले खोपको लक्ष्य हासिल गरिरहेको र यसका लागि आगामी दिनमा देशका सबै पक्षको सहयोग र सद्भाव आवश्यक रहेको बताउनुभएको छ ।