चितवन – नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं राष्ट्रिय महाधिवेशन भोलिदेखि तीनदिनसम्म चितवनमा सुरु हुँदैछ । महाधिवेशन लक्षित पूर्वाधार निर्माण र प्रचारप्रसारसँगै सुरक्षा व्यवस्थालाई चुस्त पारिएको छ ।

एमालेले महाधिवेशनको उद्घाटनका दिन पाँच लाखौँ जनता उतार्ने भएकाले भरतपुर र नारायणगढको सुरक्षा र ट्राफिक व्यवस्थापनमा अस्तव्यस्त हुने देखिन्छ । महाधिवेशनमा सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीको कमाण्डमा सुरक्षाकर्मीहरु खटिने भएका छन् ।

महाधिवेशन उद्घाटनस्थलदेखि बन्दसत्र हुने सौराहासम्म गरी एक हजार ४५५ भन्दा बढी सुरक्षाकर्मी खटाइने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए। नेपाल प्रहरी ८२१, सशस्त्र प्रहरी ४४९, ट्राफिक प्रहरी १८५ जना र अनुसन्धान विभागका कर्मचारीहरु खटिने उनले बताए। जिल्लाका सुरक्षाकर्मी अपुग हुने देखिएपछि बागमती प्रदेशबाट करिब सात सय सुरक्षाकर्मी थप गरिएको हो।

महाधिवेशन उद्घाटनका दिन भरतपुर र नारायणगढ क्षेत्रको मुख्य सडकमा सवारीसाधन चल्न पाउँदैनन्। महाधिवेशनमा सहभागी हुनेहरुसमेत पैदल हिँडेर महाधिवेशन स्थलसम्म पुग्ने भएकाले ट्राफिक व्यवस्थापनमा कठिनाइ हुने देखेर ‘नो भेइकल जोन’ बनाइएको उनले बताए। एम्बुलेन्स, दमकललगायतका अत्यावश्यक सवारीसाधनलाई भने व्यवस्थापन गरिने उनको भनाइ छ।

‘हामीले अत्यावश्यक सवारीसाधन चल्ने भनेकै छौँ। एम्बुलेन्स हुन्छ, दमकल हुन्छ। विभागका गाडी, आकस्मिक रुपमा विदेश जानुपर्ने भएका मान्छेहरु हुन सक्छन्। मृत्यु संस्कारका मान्छेहरु हुन सक्छन्। ब्रतवन्धसँग सम्बन्धित जस्ता अत्यावश्यक सवारीसाधनहरु नारायणी पुल क्लियर गरेर पुलचोकबाट शिवघाटतर्फ जानेबाटोमा डाइभर्सन गरेर पूर्व र काठमाडौँ जान मिल्ने बनाउछौँ’, उनले भने।

पश्चिमबाट आउने त्यस्ता गाडी र पूर्वबाट आउने बिरामी बोकेका एम्बुलेन्सलगायतका अत्यावश्यक गाडीलाई बाइपास सडक हुँदै काठमाडौँ, पोखरातर्फ जान मिल्ने बनाइएको उनले जानकारी दिए। मुख्य राजमार्गमा एम्बुलेन्ससमेत चल्न नदिने भएको भनी समाचार आएपछि जिल्ला सुरक्षा समिति र एमालेको आलोचना भएको थियो।

पूर्वबाट आएका गाडीलाई केन्द्रीय बसपार्क भरतपुरमा पार्किङ गरिने छ। त्यहाँ नआएका सवारीसाधनलाई बसपार्कबाट गोन्द्राङतर्फ जाने पूर्व–पश्चिम राजमार्गको एकतर्फीमा पार्किङ गर्ने योजना छ। मुग्लिनतर्फबाट आएका गाडीलाई आँपटारीमा र पश्चिमबाट आएका गाडीलाई गैंडाकोटतर्फ नै पार्किङ गरिने उनले बताए । –न्युज कारखाना