फाइल तस्वीर ।

काठमाडौं – कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोेसिएसनले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पदमुक्त गर्न माग गर्दै नेपाल बारले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेको हो ।
कार्तिक ८ गतदेखि प्रधानन्यायाधीश जबरा विरुद्ध राजीनामाको माग गर्दै आन्दोलनमा होमिएको नेपाल बार एसोसियसन र अन्य पेशागत संघसंस्थाले आज दिउँसो २ बजे संयुक्त रुपमा ‘न्याय मार्चपास’ गर्न लागेका हुन् ।

नेपाल बार, सर्वोच्च बार, बृहत् नागरिक आन्दोलन, नेपाल शिक्षक महासङ्घ, नेपाल पत्रकार महासङ्घ, नेपाल इन्जिनियर्स एशोसियसन, नेपाल जनस्वास्थ्य सङ्घ र नेपाल आदिवासी जनजाति महासङ्घको आयोजनामा मार्च पास हुँदैछ ।

प्रधानन्यायाधीश जबराविरुद्ध एक महिनादेखि चरणबद्धरुपमा आन्दोलन गर्दै आएको नेपाल बारले जबराको विषयमा यसअघि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराइसकेको छ । बारले कालोपट्टि बाँधेर सर्वोच्च अदालतमा विरोध तथा धर्ना कार्यक्रम गर्दै आएको छ । यो कार्यक्रम आज पनि बिहान १० बजे सुरु भएको छ ।