काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को १४३ औं सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान गर्नुभएको छ । सभामुख सापकोटा नेतृत्वको नेपाली टोली बुधबार राति ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पेनतर्फ प्रस्थान गरेको हो ।

सभामुखसँग प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी, राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी र अगमप्रसाद वान्तवा राई रहनुभएको छ । यसैगरी प्रतिनिधिमण्डलमा सङ्घीय संसदका महासचिव डा.भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखज्युको प्रमुख स्वकीय सचिव अर्जुन खत्री के.सी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत अर्जुन अधिकारी सहभागी हुनुहुन्छ ।

अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) र स्पेनको संसदको आयोजनामा यही मङ्सिर १० देखि १४ गतेसम्म स्पेनको म्याड्रिडमा १४३ औं आईपीयू सम्मेलन हुँदै छ । सम्मेलनमा सभामुख सापकोटाले २८ नोभेम्बरका दिन बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामुखको टोली सम्मेलन सकेर यही मङ्सिर १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।