काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनु पर्ने बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको राष्ट्रिय परिषद्लाई आज सम्बोधन गर्दै उहाँले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनु पर्ने बताउनुभएका हो । ‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुपर्यो । विद्यालय उद्योग हुनुप¥यो,’ मन्त्री शर्माले भन्नुभयो, ‘एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने हुनुपर्यो ।’ उहाँले समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्ने बताउनुभएको छ ।

विद्यालयलाई उद्यम केन्द्रित बनाउँदा सामुदायिक पूँजी निर्माण हुने उल्लेख गर्दै मन्त्री शर्माले त्यो समाजवादको आधार बन्ने बताउनुभयो । यसले उत्पादनका स्रोत र साधनमा सामुदायिक स्वामित्व रहने उहाँको भनाइ छ । उहाँले सामुदायिक स्वामित्वबाटै समाजवादको आधार तय हुने बताउनुभयो । ‘विद्यालयको पूँजी भनेको सामुदायिक हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यस्तै किसिमको अरू सामुदायिक पूँजी निर्माण गर्ने समूह÷समुदाय बनाउनुपर्छ ।’

मन्त्री शर्माले पछिल्लो समय विद्यालय नयाँ खोल्नुभन्दा मेगा विद्यालय बनाउनु पर्नेमा जोड दिनुभएको छ । थोरै विद्यार्थी तर धेरै विद्यालय हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘अब ठूलो÷मेगा विद्यालय बनाउनुपर्छ र त्यही शैक्षिक प्रविधिलाई केन्द्रित गर्नुपर्छ ।’ उहाँले एकै ठाउँ हजारौं विद्यार्थीलाई पढाउने भौतिक संरचना बनाएर सोअनुसार केन्द्रीकृत गर्नुपर्ने भनाइ राख्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री शर्माले पार्टीले ‘प्रचण्डपथ’ त्यागेर ठूलो गल्ती गरेको बताउनुभयो । प्रचण्डपथ त्यागेकै कारण पार्टी विचलित र फुटको स्थितिमा पुगेको उल्लेख गर्नुभयो । ‘शान्ति प्रक्रियामा आउँदै गर्दा प्रचण्डपथलाई निर्णय गरेर हटायौं,’ उहाँले भन्नुभयो, ‘त्यो ठूलो गल्ती थियो । मैले त्यतिबेला नै यो गल्ती हुँदैछ भनेको थिएँ ।’ प्रचण्डपथले नै त्याग, बलिदान, विचार तथा सङ्गठनलाई केन्द्रीकरण गरेको बताउँदै उहाँले त्यो त्याग्नासाथ पार्टी विभाजन भएको बताउनुभयो । –रासस