काठमाडौं– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सर्वोच्च अदालतमा देखिएको विवाद तत्कालका लागि नियन्त्रण गर्न समस्यासँग सम्बन्धित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा लगायतका न्यायधीशहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उचित हुने बताएको छ ।

पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा नेपालको विद्यमान न्यायपालिका र सर्वोच्च अदालत भ्रष्टाचार, अनियमितता, सेटिङ, घुसखोरी, नातावाद, कृपावाद, दलगत स्वार्थ र सम्बन्ध लगायतका समस्याहरूबाट ग्रसित रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ यो समस्या व्यक्ति विशेषको मात्र नभएर नेपालमा सत्तासीन दलाल पुँजीवादी वर्गको संसदीय व्यवस्थाको गम्भिर समस्या हो । यसको अन्तिम र रणनीतिक समाधान सङ्घर्षरत पक्षले दलाल संसदीय व्यवस्था र भ्रष्ट एवं जनविरोधी न्यायपालिकाको अन्त्य गरेर नेपाली श्रमजीवी जनताको वैज्ञानिक समाजवादी राज्य व्यवस्था र न्याय प्रणालीको स्थापनाबाट खोज्नु पर्दछ । यसका निम्ति जनमत सङ्ग्रह उपयुक्त राजनीतिक कार्यक्रम सिद्ध भएको छ ।’