बाँके – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछुत गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ । उहाँले छुवाछुत गर्नेलाई संविधानमै दण्डको व्यवस्था गरिएको भएता पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो ।

दलित महिला सङ्घले हिजो मङ्गलबार बुटवलमा आयोजना गरेको दलित महिला जनप्रतिनिधि र अभियानकर्मीको प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले तहगत संरचनामा पुगेका जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । छुवाछुत अन्त्यका लागि संविधानको कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री केसीले सामाजिक विभेद संवैधानिकरूपमा अन्त्य भए पनि व्यवहारिकरूपमा त्यो जीवित नै भएको उल्लेख गर्नुभयो । उहाँले लुम्बिनी प्रदेश सरकार छुट्टै कानुन वा एकीकृत कानुन बनाएर दलित समुदायको पक्षमा काम गर्न तयार रहेको बताएउनुभएको छ ।