तनहुँ – जिल्ला ट्राफिक कार्यालयले चार महिनाको अवधिमा झण्डै १५ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म १४ हजार ९ सय ५० सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । ट्राफिक नियमविपरीत सवारीसाधन चलाउँदा कारबाही गर्दा रु एक करोड एक लाख ६४ हजार राजश्व सङ्कलन भएको छ । कारबाहीमा पर्नेमा अधिकांश मोटरसाइकल चालक छन् ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २७ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा १२ जनाको मृत्यु हुनुका साथै ४० घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो । पृथ्वी राजमार्गमा सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न तीव्रगति नियन्त्रण गर्नका लागि गत असोज ३ गतेदेखि राडरगनको प्रयोग गरिएको छ ।

ट्राफिक व्यवस्थापनका लागि विभिन्न स्थानमा १ सय ४४ थान ट्राफिक कोण, ट्राफिक सङ्केत र होडिङबोर्ड राखिएको छ । उहाँले भन्नुभयो, “सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी ४३ कक्षा सञ्चालन गर्दा सात हजार ६ सय ४० जना लाभान्वित भएका छन् ।” चालु आवमा सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि ९३ पटक गरी १६ हजार ७ सय १५ थान पर्चा पम्प्लेट वितरण गरिएको हमालले बताउनुभयो । ‘चालकसँग एक मिनेट’ कार्यक्रमअन्तर्गत चालु आवमा २ सय ७६ पटक कार्यक्रम सञ्चालन गर्दा २३ हजार ८ सय ९७ चालक सहभागी थिए । रासस