दाङ – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान अधिवेशनको मतगणना स्थलमा तनाब उत्पन्न भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । गएराति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसको टिनमा कसैले ढुँगा हानेपछि सिर्जना भएको तनाव नियन्त्रणमा लिन दुई राउन्ड अश्रुग्यास प्रहार गर्नु परेको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

प्यूठानका प्रमुख जिल्ला अधिकारी खेमराज भुसालका अनुसार, काङ्ग्रेसका दुई पक्षका कार्यकर्ताको प्रदर्शनले उग्ररुप लिन थालेपछि बाध्य भएर दुई राउन्ड अश्रुग्यास प्रहार गर्नु परेको हो । दुई पक्षका कार्यकर्ताबीच भएको झडपका क्रममा दुईजना प्रहरी सहित ७ जना घाइते भएका छन् । प्रहरी जवान गोपाल जिसी र चन्द्र बहादुर गाह घाइते भएका छन् । काङ्ग्रेस कार्यकर्ता कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका २ का २० वर्षीय कमल घर्ती , नौबहिनी ६ का २६ वर्षीय कुंवर पुन, २३ वर्षीय बिनोद रिजाल र प्युठान नगरपालिका ७ का खेमराज पण्डित उक्त झडपमा घाइते भएका छन् ।

घाइते भएका उनीहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार लगिएको छ । मतगणनाको क्रममा संस्थापन इतर पक्षधर बिष्णुकुमार गिरीले अग्रता लिएका थिए । त्यही क्रममा कसैले टिनमा ढुङ्गा हानेपछि विवाद चर्किएको थियो ।