काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीलाई विद्यालयमै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ । आज मङ्गलबार विद्यालय शिक्षाको समग्र सुधारका लागि ३१ बुँदे प्राथमिकता सार्वजनिक गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । सबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप प्रदान गरिने विषयलाई मन्त्री पौडेलले पहिलो प्राथमिकता दिनुभएको छ । उहाँले कति समयभित्र खोप उपलब्ध गराइसक्ने भन्ने विषयमा भने स्पष्ट उल्लेख गर्नु भएको छैन ।

शिक्षा मन्त्री पौडेलले आज पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सङ्घीय शिक्षा ऐनलाई सकेसम्म छिटो जारी गर्ने, शिक्षक दरबन्दी मिलान तथा स्थायी शिक्षक पदपूर्तिको लागि प्रक्रिया आरम्भ गरिने, हरेक स्थानीय तहमा न्युनतम एउटा प्राविधिक विद्यालय स्थापना गरिने विषय आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । शिक्षक अस्पताल स्थापनाको प्रक्रिया छिटो आरम्भ गरिने, सामुदायिक विद्यालयको स्तरवृद्धिका लागि जारी गरिएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको प्रभावकारी कार्यान्वयन, शैक्षिक सुधार तथा प्रविधि विस्तारका लागि वैदेशिक लगानीलाई आकर्षण गर्ने विषय पनि आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।

निजी विद्यालय सञ्चालकले कानुनमा तोकिए अनुसार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको वा नगराएको विषयमा कडा अनुगमन गरिने पनि मन्त्री पौडेलले उल्लेख गर्नुभएको छ ।