काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट तीन सय ५१ जना सङ्क्रमित भएको र नौ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधि र एन्टिजेन विधिबाट १० हजार एक सय ७४ जनाको नमुना परीक्षण गर्दा तीन सय ५१ जनामा भाइरसको सङक्रमण पुष्टि भएको हो । जसमध्ये ८ हजार ७ सय २९ जनाको पीसीआर र १ हजार ४ सय ४५ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको परीक्षण भएको थियो । सोही अवधिमा दुई सय ७३ जना निको भएका छन् भने उपचारकै क्रममा नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १९ हजार छ सय ९९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार तीन सय ७० जना पुगेको छ । सङक्रमितमध्ये हालसम्म आठ लाख आठ सय ९० जना निको भएका छन् भने कुल ११ हजार ५०९ जनाको मृत्यु भएको छ । हाल देशभर सात हजार तीन सय जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।