फाइल तस्वीर
काठमाडौं– नेकपा (एमाले) को दशौं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार बन्ने हुनुभएको छ । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका पूर्वसभामुख नेम्वाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको, तर यदि चुनाव हुने अवस्था आएमा आफुले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताउनु भएको छ ।


अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षसहित १५ पदाधिकारी सर्वसम्मत ढङ्गले चयन गरेर पार्टीभित्र एकताको सन्देश दिन चाहेता पनि महाधिवेशनको सङ्घारमा आइपुग्दा पदाधिकारीमा चुनाव हुने सम्भावना बलियो बन्दै गएको छ । अध्यक्ष ओलीका विश्वासपात्र मानिने नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउने सोचमा ओली भएता पनि उक्त पदका आकांक्षीहरु धेरै भएकाले चुनाव हुने सम्भावना देखिन्छ ।


पूर्वसभामूख एवं एमाले संसदीय दलका उपनेता नेम्वाङ अहिलेसम्म एमालेको पदाधिकारी बन्नसक्नु भएको छैन । यसपटक पदाधिकारी बन्न नसके एमालेमा उहाँ प्रभावशाली नेता भएर पनि पदाधिकारी पदमा नपुग्ने अभागी नेता बन्नुहुनेछ । त्यसैले नेम्वाङले आफ्ना समूहका नेता कार्यकर्ताहरुसँग छलफल गरेर पार्टीको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन तयारी अवस्थामा पुग्नु भएको छ ।


त्यसो त एमाले उपाध्यक्ष भीम रावलले पार्टीको दशौं महाधिवेशनमा आफुलाई पार्टी अध्यक्षको पदमा उम्मेदवारी दिने सार्वजनिक रुपमै घोषणा गर्नु भएको छ । रावलको यो घोषणाले एमालेमा एक खालको तरङ्ग पैदा भएको छ । भलै पार्टीका आगामी नेतृत्व पनि केपी शर्मा ओलीकै पोल्टामा आउने निश्चित छ । पदाधिकारीमा पनि आकांक्षीहरु धेरै भएकाले अब सबैलाई मिलाएर सर्वसम्मत बनाउन फलामको च्यूरा चपाए सरह हुने देखिएको छ । केपी ओलीका सामु आफु निकट नेताहरु, पूर्व वरिष्ठ नेता माधवकुमार नेपालकोे साथ छोडर एमालेमा रहेका नेताहरु, पूर्वमाओवादी र अन्य राजनीतिक दलहरुबाट एमालेमा आएका नेताहरुलार्ई व्यवस्थापन गर्न निकै कष्टकर बन्न सक्दछ ।


गत असोजमा विधान परिवर्तन गरेर एमालेले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको थियो । उक्त पद हालका महासचिव ईश्वर पोखरेललाई व्यवस्थापन गर्न लक्षित गरेर सिर्जना गरिएको एमाले नेताहरुले बताउँदै आएका छन् । पार्टीको वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङसहित पूर्वमाओवादी नेता रामबहादुर थापा बादल, र महासचिव ईश्वर पोखरेलले चासो देखाएका छन् । यदि चुनाव भएमा यहाँ पूर्वमाओवादी नेता बादललाई चुनाव जितेर आउने सम्भावना ज्यादै न्यून छ ।