फाइल तस्वीर
भरतपुर – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू आगामी आम निर्वाचनमा चितवनबाटै उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । चितवनको भरतपुर महानगरपालिकाको वडा नं. २७ मा पर्ने बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको उद्घाटन गर्ने कार्यक्रममा उहाँले चितवनबाटै चुनाव लड्ने घोषणा गर्नुभएको हो ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिंचाई प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको वाचा पूरा गरिरहेको दाबी गर्नुभएको छ । अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै आफ्नो उम्मेदवारी रहने स्पष्ट घोषणा गर्नुभएको छ ।

भरतपुर महानगरको विकास लोभलाग्दो रहेको भन्दै अध्यक्ष प्रचण्डले यसलाई अझ उचाईमा पुर्याउनका लागि आफ्नो उम्मेदवारी रहने उल्लेख गर्नुभएको छ । सोही अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गरिने भन्दै ‘चितवनमा पहिलो चरणमा जग्गा वितरण गरिन्छ’ भन्नुभएको छ ।


डिप ट्युबेल सिँचाइ प्रणाली उद्धघाटन कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भूषालले समृद्ध तराई–मधेस कार्यक्रमअन्तर्गत आयोजना सुरु भएको भन्दै भरतपुर र माडी क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । यी क्षेत्रमा चार अर्ब रुपैयाँ लगानी हुने मन्त्री भूषालले बताउनु भएको छ ।