फाइल तस्वीर ।

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक आज मङ्गलबार बस्ने भएको छ । हिजो सोमबारका लागि बोलाइएको बैठक विभिन्न कारणले स्थगित गरी आज ११ बजे ललितपुरको बालकुमारी च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको हो ।
तीन दिन पछि चितवनको सौराहामा हुन लागेको पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनित प्रतिनिधि छनौट गर्ने विषयमा निर्णय गर्न बैठक बस्न लागेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।

मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि पाँच प्रतिशत मनोनित प्रतिनिधि छनौटको टुङ्गो स्थायी कमिटी बैठकले गर्ने छ । यसअघि महाधिवेशनका लागि गएको कात्तिक २७ गते एक हजार एक सय ९९ प्रतिनिधि चयन भइसकेका छन् ।
पार्टीको १५ पदाधिकारी सर्वसम्मत रुपमा चयन गरेर पार्टीमा कुनै विवाद नरहेको सन्देश दिन चाहेको एमालेले महाधिवेशनको सङ्घारमा आइपुग्दा अध्यक्षसहितका पदाधिकारीमा धेरै आकांक्षीहरु देखिएका छन् । अध्यक्ष ओलीले १५ पदाधिकारी सर्वसम्मत गराउने प्रयत्न गरेता पनि त्यो सम्भावना कम रहेको एक नेताले बताएका छन् । पदाधिकारीका आकांक्षीहरु धेरै भएकाले चुनाव हुने अवस्था देखिएको छ ।