साङ्केतिक फाइल तस्वीर ।
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बुमा एक गोठमा आगलागी हुँदा तीन जना बालकको मृत्युभएको छ । घरसँगै गरेहेको स्थानीय सन्त तामाङको एक तले गोठमा आगलागी हुँदा उक्त घटना भएको हो ।

सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले बताए अनुसार सोमबार बेलुका सात बजेतिर हेलम्बु–७ सरसिङका सन्त तामाङ गोठमा आगलागी भएको थियो । उक्त आगलागीमा परी मृत्यु हुनेमा गोठमा बसिरहेका सन्तका छोरा ६ वर्षका मनोज, स्थानीय सुकमान तामाङका छोरा पाँच वर्षका मनिष तथा साइला तामाङका छोरा पाँच वर्षका दिलबहादुर रहेको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको बेला पराल तथा मकैको भुत्लाराखिएको गोठमा आगलागी भएको र त्यहाँ रहेका तीन बालकको मृत्यु भएको डिएसपी बस्नेतले बताएका छन् । गोठमा कुँडो पकाउनका लागि बालिएको आगो पराल र मकैको भुत्ला लाखिएको ठाउँमा आगो सल्किएर उक्त घटना भएको प्रहरीको भनाइ छ ।

गोठमा लागेको आगो स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा बेलुका करिब साढे ८ बजे मात्रै नियन्त्रणमा लिए पनि बालकहरुलाई बचाउन नसकिएको र मृतकहरुको शव घटनास्थलमै रहेको डिएसपी बस्नेतले बताएका छन् ।