फाइल तस्वीर

काठमाडौं – सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने बाटो खुलेको छ । आज सोमबार सर्वोच्च अदालतको (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएपछि गोलाप्रथाबाट दैनिक पेशी तोक्ने कानुनी आधार तयार भएको हो । सर्वोच्च अदालत नियमावली २०७४ संशोधन गरेर गोलाप्रथाबाट पेशी तोकिने भएपछि उक्त अधिकार कटौती भएको छ ।

गत बिहिबार अर्थात् मङ्सिर २ गते सर्वोच्चका १८ जना न्यायाधीशको बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासमक्ष पेश गरेका थिए । नियमावली संशोधन सम्बन्धी राजपत्रको सूचनामा उल्लेख गरिएको छ, ‘अदालतको साप्ताहिक पेशी सूची तयार गरी प्रकाशन गर्ने र दैनिक पेशी सूची तयार गरी गोला प्रक्रियाको प्रयोजनको लागि पूर्ण बैठक कक्षमा पेश गर्ने ।’

प्रधानन्यायाधीशको अध्यक्षतामा बसेको फुलकोर्टको बैठकले नियमावली संशोधन गर्नुपर्ने भए पनि राजीनामा माग्दै आन्दोलन गरिरहेका न्यायाधीशहरुले उहाँसँग फुलकोर्ट बैठकमा बस्न अस्वीकार गर्दै सामूहिक निर्णय गरेर पठाएका थिए । त्यसलाई प्रधानन्यायाधीश राणाले अनुमोदन गरेपछि फूलकोर्ट बैठकको मान्यता पाउँदै राजपत्रमा सूचना प्रकाशित गरिएको हो ।

सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको थियो । न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न सिफारिस गरेको छ भने न्यायाधीश मीरा खड्काको प्रतिवेदनले गोलाप्रथामा कसरी जाने भन्नेबारे कार्यविधि सुझाएको छ । फुलकोर्टले नियमावली संशोधन गरेसँगै आज राजपत्रमा सूचना प्रकाशित भएको हो ।यस्तो छ राजपत्रमा प्रकाशित सूचना: