काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को चितवनमा हुन लागेको आशन्न दशौं महाधिवेशमा अध्यक्षका प्रत्याशीहरु बढ्न थालेका छन् । पार्टीको सिद्धान्त, विचार र कार्यदिशामा भन्दा पदीय लालचामा महाधिवेशन केन्द्रीत हुने देखिन्छ । महाधिवेशनबाट पार्टीको विचार र कार्यदिशा संश्लेषित हुनुपर्नेमा पार्टी नेतृत्वका आकाङ्क्षीहरु चुकेका छन् । वर्तमान अध्यक्ष खड्गप्रसाद शर्मा ओली पार्टीको निर्वैकल्पिक अध्यक्ष बन्ने निश्चित प्रायः देखिएकोमा हिजो पार्टी उपाध्यक्ष डा.भीम रावलले रिपोर्टस क्लबमा आयोजित कार्यक्रममार्फत् दशौं महाधिवेशनमा अध्यक्षको प्रत्याशी बन्ने घोषणा गरेर केपी शर्मा ओलीलाई चुनौती दिने उद्घोष समेत गरेका छन् ।


एमालेको दशौं महाधिवेशनमा पार्टीको सिद्धान्त, विचार र आगामी कार्यदिशा के हो त ! भन्ने विषयमा खासै चर्चा भएको छैन । पार्टीको पदाधिकारीमा धेरै आकाङ्क्षीहरु देखिएका छन् । यसैक्रममा उपमहासचिव घनश्याम भूषालले पनि चितवनमा हुने पार्टीको दशौं महाधिवेशनमा आफु पनि अध्यक्षको उम्मेदवार बन्ने उद्घोष गरेका छन् । उपाध्यक्ष रावल र उप–महासचिव भूषाल दुवैले अध्यक्षमा उम्मेदवारी दिंदा उनीहरुका कार्यकर्तामा मत विभाजन हुन जानेछ । जसको फाइदा प्रत्यक्ष रुपमा ओलीलाई नै हुने निश्चित छ ।


पार्टी भित्रको विवादलाई साम्य पार्न दशौं महाधिवेशन असफल हुने निश्चित छ । एमालेमा तात्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता कार्यकर्ताहरुको प्रतिनिधित्व गर्न रावल र भूषालको प्रयत्न त होला, तर उनीहरु यसमा सफल हुने अवस्था छैन । माधव नेपाल हिजो पार्टीमा रहँदासम्म ओलीका विरुद्ध कटाक्ष गर्दै आएका भीम रावल, घनश्याम भूषालहरुप्रति पार्टी कार्यकर्ताले विश्वास गर्ने ठाउँ देखिंदैन । हिजो माधव पक्षमा खुलेर लागेका र ओलीलाई तथानाम गाली गरेर अन्तिममा पुनः ओली क्याम्पमा फर्किएका ती नेताहरुमा न कुनै वैचारिक सोच छ, न त आफ्नो कार्यदिशामा स्पष्ट देखिन्छन् । दशौं महाधिवेशनबाट उनीहरुलाई केपी ओली समूहले नराम्रोसँग भित्तामा पुर्याउने रणनीतिमा छ ।


एमालेमा ओलीले इतरपक्षलाई हिजो जसरी पेलेर गएका थिए, भोली पनि यो अवस्था दोरोहिने निश्चित छ । ओलीको राजनीतिक असहिष्णुता, दम्भ र अहङ्कारले दशौं महाधिवेशन पछि पनि पुनरावृत्ति हुने निश्चित छ । ओलेले आफ्ना समुहका उत्तराधिकारी नेता तथा कार्यकताहरुलाई किनारा लगाएर पूर्वमाओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालगायतका नेता कार्यकता र हिजो माधवकुमार नेपाल पक्षमा चट्टान झै देखिएका भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भूषाल, गोकर्ण विष्टलगायतका नेताहरुलाई व्यवस्थापन गर्न त्यति सहज भने हुने छैन । व्यवस्थापनमा समस्या हुने बित्तिकै पूर्वमाओवादी नेता र एमाले भित्रकै प्रतिपक्षी मानिएका रावल, घनश्याम पक्षका नेता कार्यकर्ताहरु विस्तारै ओझेलमा पर्ने र अन्ततः एमालेमा ठूलै भूकम्प नआउला भन्न सकिन्न । एमालेमा केन्द्रदेखि तल्ला कमिटीहरुमा पदीय रुपबाटै बाहिन पुगेका नेता कार्यकर्ताहरु भोलि नेकपा (एकृकीत समाजवादी) मा आउन सक्ने राजनीतिक वृत्तमा एक खालको विश्लेषण हुन थालेको छ ।


भीम रावल घनश्याम भूषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतका नेताहरु माधवकुमार नेपाललाई छोडेर ओली क्याम्पमा फर्किनुको प्रमुख कारण एमालेको ट्याग र सूर्य चिन्न नै मुख्य हो भन्दा अतिशयोक्ति नहोला । न पार्टीमा कुनै सिद्धान्त, विचार र कार्यदिशाको विवाद छ न त अन्य कुनै । आफुलाई सिद्धान्तकार र कम्युनिस्ट पर्वतकका रुपमा व्याख्यागर्न रुचाउने घनश्यामा भूषालमा राजनीतिक वैचारिक कुरा नै स्खलित भएर ओली समूहमा लागेको आरोप नलागेको होइन । भूषालको हिजोसम्म जुन खालको छवि देखिएको थियो नेपाली कम्युनिस्ट आन्दोलनमा अब त्यसबाट उठ्न उनले ठूलै मूल्य चुकाउनु पर्ने देखिन्छ ।


दशौं महाधिवेशनमा केपी ओलीले १५ सदस्यीय पदाधिकारी सर्वसम्मत चयन गर्ने जुन किसिमको रणनीति अख्तियार गरेका थिए, त्यो महाधिवेशनको सङ्घारमा आएर तुहिन पुगेको छ । यसले पनि पूर्वमाओवादीका नेताहरुभन्दा पनि रावल–भूषालहरुलाई पार्टी भित्रको विरासत जोगाउन मुस्किल हुन सक्दछ ।


अध्यक्षमा आफैं दोहोरिने चाहाना राखेका ओलीले सबै पदमा सहमति खोज्ने प्रयास गरेपनि ओली समूहमै आकांक्षी धेरै भएपछि निर्वाचन हुने लगभग निश्चित भएको छ । १९९९ महाधिवेशन प्रतिनिधि रहने भनिएको एमाले महाधिवेशनमा अधिकांश ओली पक्षबाट चयन भएका छन् । एमाले महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा हुँदैछ । एमालेको आशन्न महाधिवेशनमा कार्यकर्तालाई आफ्नो पक्षमा तान्न ठूलै आर्थिक चलखेल हुने समेत देखिएको राजनीतिक विश्लेषकहरुको बुझाइ छ ।