फाइल तस्वीर ।
चितवन – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेलाई प्रतिक्रान्तिकारीको संज्ञा दिनुभएको छ । अध्यक्ष प्रचण्डले आज बिहान सौराहा नजिकै चितवनको टाँडी बजारमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उक्त धारणा व्यक्त गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेको घटनालाई ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’ भएको आरोप लगाउनु भएछ ।

अध्यक्ष प्रचण्डले जनताको बलमा नै प्रतिनिधिसभा पुनःस्थापना भएको भन्दै ‘बालुवाटारबाट गलहत्याएर बालकोट र सातै प्रदेशबाट गलहत्याएर घरघरमा पु¥याउने काम जनताले गरेका छन् । जनता र क्रान्तिकारीमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको छ’ – प्रचण्डको भनाइ थियो ।

सुस्ताएको माओवादी फेरि जागेको भन्दै अध्यक्ष प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादीको वरपरै नै रहेको दाबी समेत गर्नुभयो । अध्यक्ष प्रचण्डले प्रशिक्षणका क्रममा माओवादी सङ्गठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको भन्दै कार्यकर्तालाई सक्रिय हुन आग्रह समेत गर्नुभएको छ ।