फाईल तस्वीर
पोखरा — पर्यटकीय सहर पोखराको लेक साइडमा आज बिहान आगलागी हुँदा पाँच पसलमा क्षति पुगेको छ । बिहान फेवाताल किनार फुटट्रयाकमा रहेको एक पसलबाट सुरु भएको आगलागीबाट सँगैका पाँच पसल जलेका हुन् ।

रेष्टुराँ, खाजा पसल र जुस सेन्टरलगायतका पसलमा आगलागीले क्षति पुर्याएको वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक चिनिमायाँ तामाङले जानकारी दिनुभयो । प्रहरीले आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ । दमकलको सहायतामा प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।

प्रारम्भिक अनुसन्धानमा रु एक करोड ५० लाख मूल्य बराबरको क्षति पुगेको उहाँले भन्नुभयो, “आगलागीबाट भएको क्षतिको मुचुल्का गर्ने काम भइरहेको छ । विद्युत् सर्ट भएर हो वा अन्य कारणबाट आगलागी भयो भनेर हामीले अनुसन्धान गरिरहेका छौँ ।” —रासस