फाइल तस्बिर
काठमाडौं – नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरी गर्दै आएको आन्दोलनको स्वरुप आज देखि परिवर्तन गर्ने भएको छ । यसअघि राजीनामा मागको मुद्दालाई प्रमुख बनाएको बारले आज भने आफ्नो आन्दोलमा भएको बल प्रयोगको विरोधलाई प्राथमिकतामा राखेको छ ।

बारको शुक्रबार बसेको बैठकको निर्णयअनुसार कानुन व्यवसायीहरुले आज देशभरका अदालतहरुमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस गर्ने छैनन् । बारले भनेको छ, ‘अदालतभित्र दङ्गा प्रहरी प्रवेश गराउने, कानुन व्यवसायीको शान्तिपूर्ण धर्ना, विरोध कार्यक्रमलाई दबाउन हतियारसहितको दङ्गा प्रहरीको ठूलो सङ्ख्यामा तैनाथ गरी कानुन व्यवसायीहरुलाई दमन, हातपात, कुटपिट गरी घाइते बनाएको विरोधमा देशभरका सबै अदालतहरुमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने नगराउन आग्रह छ ।’

यस्तै बारले सोमबार देशभरका अदालतमा यसअघि जस्तै बिहान १० देखि १२ बजेसम्म कालोपट्टि बाँधेर धर्नासहित विरोधसभा गर्ने, मङ्गलबार हद म्याद गुज्रिनेबाहेकका कुनै पनि निवेदन वा मुद्दा दर्ता नगर्ने, बुधबार १८ वटा उच्च अदालतमा विरोधसभा गर्ने तथा बिहीबार र शुक्रबार सर्वोच्च केन्द्रित विरोध कार्यक्रम गर्ने बारले जनाएको छ ।