फाइल तस्वीर ।
काठमाडौं – नेकपा माओवादी केन्द्रले आज एकैदिन देशैभर वडा सम्मेलन गर्ने भएको छ । उक्त सम्मेलन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुयलमाध्यमबाट बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आगामी महाधिवेशनलाई लक्षित गर्दै आज शनिबार देशैभरीका वडास्तरमा सम्मेलन गर्न लागेको हो ।
आज हुनलागेको वडा सम्मेलनको तयारी पूरा भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् । माओवादी केन्द्रले पार्टीलाई नयाँ ढङ्गले निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने बताइएको छ । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासमेत तय गरेको छ ।

माओवादी केन्द्रले वडा समितिको चयन गर्दा सकेसम्म सर्वसहमतिमा गर्न पार्टी नेतृत्वले एकखालको निर्देशन दिएकोे छ । निर्वाचन हुने अवस्था आएको खण्डमा मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रुपमा बुझेर सोहीअनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पङ्क्तिलाई आग्रह गरेको छ । माओवादीले यही मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ ।

वडा सम्मेलनका क्रममा पार्टी प्रवक्ता महराले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्नसक्ने नयाँ एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न अपिल गरेका छन् ।

आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ। माओवादीले गठन गरेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा सात सदस्यीय, पालिकामा पाँच सदस्यीय र वडा तहमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।

निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले देशभरका ६ हजार ७४३ वटा वडामा सम्मेलन हुने बताए । माओवादीको हालसम्म झण्डै आठ लाखले पार्टी सदस्यताको विवरण उपलब्ध गराएको दावी गरेको छ ।