फाइल तस्वीर ।
बुटवल – सत्तारुढ दल नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र अन्तगर्तको अधिवेशनमा रुपन्देहीमा मतगणनाको विषयलाई लिएर देउवा पक्ष र पौडेल पक्षका कार्यकताहरु कुटाकुट भएको छ । उक्त घटनामा पाँच जना कार्यकता घाइते भएका छन् ।

प्रदेश नम्बर ३ (क) को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति मतगणनास्थलमा काङ्ग्रेसका दुई पक्षका कार्यकर्ताबीच कुठाकुट भएको हो । मतपरिणाम आउने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुरण श्रेष्ठले अग्रता लिएपछि सभापति शेरबहादुर देउवा पक्षका युवाको समूहले एक्कासी आक्रमण गरेका थिए । उक्त आक्रमणबाट पौडेल पक्षका क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाइते भएका छन् । घाइते भएका पन्तको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

वरिष्ठ नेता पौडेल पक्षका उम्मेदवार पुरण श्रेष्ठले बताए अनुसार देउवा पक्षले चुनाव हार्ने निश्चित भएपछि एक समूह मतगणनास्थलमा प्रवेश गरी जेनेरेटर बन्द गराएर आक्रमण सुरु गरेका थिए ।

उक्त घटनापछि मतगणना स्थगित गरिएकोे छ । रूपन्देहीका सबै प्रदेश निर्वाचन क्षेत्रको निर्वाचनमा सभापति शेरबहादुर देउवा र पौडेल पक्ष प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । आशन्न महाधिवेशनमा कस्ले नेतृत्व हत्याउने भन्ने रणनीतिक रुपमा काङ्ग्रेस भित्र ठूलो रडाको मच्चिएको छ ।