फाइल तस्वीर ।
काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराका विरुद्ध कार्तिक ८ गतेदेखि आन्दोलन गर्दै आएका कानून व्यवसायीहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । शुक्रबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । वरिष्ठ अधिवक्ता भट्टले आज सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रममा बोल्दै उक्त धारणा व्यक्त गरेका हुन् ।

प्रधानन्यायाधीश राणा भूमिगत गिरोहबाट सञ्चालन भएको भन्दै उनले न्यायाधीशहरुसँग गरेको सहमति पनि पालना नगर्ने दावी गर्दै न्यायाधीशहरुलाई सचेत रहन आग्रह गरेका छन् । ‘प्रधानन्यायाधीश राणासँग न दिमाग छ, न मन छ, न आत्मा नै । प्रधानन्यायाधीश राणाभूमिगत गिरोहबाट सञ्चालित व्यक्ति हुन् । म मान्य न्यायाधीशहरुलाई पनि अनुरोध गर्न चाहन्छु कि यो प्रधानन्यायाधीशले तपाईहरुसँग गरेका कुनै पनि सहमती कार्यान्वयन गर्दैनन् । त्यो भूमिगत गिरोह, विचौलियाको नाइके हो भन्दै वरिष्ठ अधिवक्ता भट्टले उसका तमाम सहमतिहरु पालना हुँदैनन् । यो प्रधानन्यायाधीश आफ्नो विवेकले चल्दैन । यो प्रधानन्यायाधीश बिचौलियाको माफियाहरुबाट सञ्चालित छ’– भनेका छन् ।

प्रधानन्यायाधीश राणाप्रति तिव्र आक्रोशित हुँदै वरिष्ठ अधिवक्ता भट्टले ‘यस्तो प्रधानन्यायाधीशलाई हामी प्रधानन्यायाधीश मान्न सक्दैनौं । आजै, अहिल्यै, तत्क्षण यो प्रधानन्यायाधीशले राजीनामा दिनुपर्दछ । म प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेताहरु र सम्पूर्ण सांसदहरुलाई म आह्वान गर्न चाहन्छु, तपाईहरु कसको बलमा माननीय हुनुभएको छ अहिले ? कानुन व्यवसायीले रातदिन खटेर, मुद्दा लेखेर, रातदिन बहस गरेर, अदालतमा झगडा गरेर, आफ्नो मेहनत गरेर, बिना पैसा बहस गरेको कारणले प्रतिनिधिसभा पुर्नस्थापना भएको छ । त्यसको आडमा तपाईहरु सांसद हुनुभएको छ’ भन्दै राजनीतिक दलहरुलाई सचेत गराएका छन् । ‘तपाईहरु त्यसको आधारमा नेता हुनुभएको छ, त्यसको आधारमा तपाई गृहमन्त्री हुनुभएको छ । खबरदार भोलि यस्तै हुने र कानुन व्यवसायीमाथि प्रहरी दमन हुने हो भने हाम्रो आन्दोलत तपाईंहरुप्रति पनि लक्षित हुनेछ । त्यसैले राजनीतिक दलका नेताहरुलाई भन्न चाहान्छु कि प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुस् र निष्कासन गर्नुस्’– वरिष्ठ अधिवक्ता भट्टको भनाइ थियो ।

सोही विरोध कार्यक्रममा बोल्दै अर्का वरिष्ठ अधिवक्ता एकराज भण्डारीले राजनीतिक दलहरुलाई न्यायपालिकामा भइरहेको आन्दोलनले नछोएको टिप्पणी गरेका छन् । वरिष्ठ अधिवक्ता भण्डारीले भने ‘प्रत्येक दलका नेताहरुको प्रधानन्यायाधीशसँग लेनदेन भएको छ’ । नेताहरुको मुद्दा प्रधानन्यायाधीशले बार्गेनिङको रुपमा सर्वोच्चमा अड्काएको कारणले नेताहरु बोल्न नसकेको वरिष्ठ अधिवक्ता भण्डारीको भनाइ थियो ।

वरिष्ठ अधिवक्ता भण्डारीले, ‘यो विषयवस्तु छुनुपर्ने भनेको नेपालका दलहरुमा हो, जो सरकारमा छन् । जो प्रतिपक्षमा छन् । ती दलहरुलाई यसले किन छोएको छैन?’ भन्दै ‘के यी दलहरुको लागि यो न्याय प्रणाली होइन ? न्यायपालिका होइन ? अवश्य हो । प्रत्येक दलहरुको चोलेन्द्र शमशेरसँग लेनदेन छ । सबले हिसाबकिताब गरेका छन् । सबै दलका नेताहरुको कुनै न कुनै ढंगका यहाँ मुद्दा, मामिला छन ्। ती मुद्दा, मामिला बार्गेनिङ ढङ्गले यहाँ अड्किइरहेको छ । त्यसैले यी दलहरु बोलिरहेका छैनन् । अहिलेका दलहरुले सोचिराखे हुन्छ । सर्वोच्च अदालतमा, नेपाल बारको प्राङ्गणमा सुरु भएको यो आन्दोलन एउटा झिल्का हो । यदि दलहरुले यो कुरालाई ध्यान दिएनन् भने सम्पूर्ण सत्ता नै गुमाउनुपर्ने अवस्था पनि आउन सक्छ’ भन्दै राजनीतिक दलहरुलाई चेतावनी दिएका छन् ।

आजको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश जबराले बारको आन्दोलन दबाउन पदको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् । ‘प्रधानन्यायाधीशले जनताको लागि इजलास चलाउन तयार नभएको तर दलाल, माफिया र तस्करहरुको सेवा गरिरहेको’ भन्दै वरिष्ठ अधिवक्ता कार्कीले ‘शक्तिशाली नेताहरुको मुद्दा सर्वोच्चमा रहेको र ती मुद्दालाई देखाएर नेताहरुलाई तर्साइएको कारण नेताहरु प्रधानन्यायाधीश राणाको विरुद्धमा बोल्न नसकेको दावी गरेका छन् ।

वरिष्ठ अधिवक्ता कार्कीले ‘हामीले जुन आन्दोलन गरिराखेका छौं । त्यो आन्दोलन दबाउन प्रधानमन्त्री, गृहमन्त्री सबैलाई ती दलालहरु जसको सेवामा प्रधानन्यायाधीशले आफ्नो पदको दुरुपयोग गरिरहेका छन्, उनीहरुको लागि यहाँ बसिरहेका छन्’ भन्दै राजनीतिक तलहरुप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन् । वरिष्ठ अधिवक्ता कार्की ‘कुनै भ्रममा नपर्नुस् । तपाई हाम्रो लागि उहाँ तयार हुनुहुन्न, इजलास चलाउन सक्नुहुन्न, तपाईँ हाम्रो लागि होइन, यो प्रष्ट भयो । तपाईं हामीले चाहेर प्रधानन्यायाधीशलाई भेट सम्भव छैन । अन्यायमा परेको व्यक्तिले प्रधानन्यायाधीश भेटौं भनेर खोज्यो भने उहाँको प्रशासनले पनि सायद भेट्न सक्दैन । तर दलालहरु, माफियाहरु, र तस्करहरु जुन वर्गको सेवा राणाले गरिरहेका छन् उनीहरुको सेवा गर्न बाध्य छन्, सायद राणालाई त्यहाँ पु¥याउने तत्व पनि त्यही नै हो । यो त जनआन्दोलन भन्दापनि, जनयुद्ध भन्दापनि धनसँगको युद्ध बडा खतरा रहेछ । यो चिन्नु जरुरी छ।’ भन्दै आक्रोश व्यक्त गरेका छन् ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नआउञ्जेलसम्म सर्वोच्च अदालतमा धर्ना जारी राख्ने जनाएको छ ।