प्रतीकात्मक तस्वीर
बझाङ – विद्यालयसहितको भवन भाँसिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिँएपछि हाल खेतमा कक्षा सञ्चालन भइरहेको छ ।

अत्यधिक वर्षाले जमिन भाँसिएपछि विद्यालयको भवन पनि भाँसियको छ । विद्यालयमा कक्षा सञ्चालन गर्न सकिने अवस्था छैन । त्यसैले विद्यालय नजिकैको खेतमा पठनपाठन गर्नुपरेको प्रधानाध्यापक पुष्पराज जोशीले जानकारी दिनुभयो । उक्त विद्यालय २०५४ मा स्थापना भएको हो । हाल विद्यालयमा छात्रछात्रा गरी १ सय ७४ विद्यार्थी अध्ययनरत छन् ।

‘पठनपाठन बन्द गर्नुपर्ने अवस्था आयो, पढाइको वैकल्पिक उपायका लागि जिल्ला रेडक्रस सोसाइटीसँग त्रिपाल माग्न चैनपुर गए’, प्रधानाध्यापक जोशीले भन्नुभयो, ‘रेडक्रसका पदाधिकारीले त्रिपाल दिन सकिँदैन भन्नुभयो, रित्तै फर्किएँ ।’

विद्यालयको शौचालयसमेत पहिरोले पुरिएको छ । विद्यार्थी खुला रुपमा शौच गर्दै आएका छन् । जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर सिंहले चाँडै विद्यालय भवन निर्माण गरिने बताउँनुहुन्छ । नयाँ भवन निर्माणको बजेटबारे भने सिंह अनभिज्ञ छन् ।

बेताल आधारभूत प्राथमिक विद्यालयकै जस्तै खप्तडछान्ना गाउँपालिकामा–१ खाती गाउँस्थित जगदम्बा निमाविको आठ कोठे पक्की भवन पनि बाढीले बगाएपछि पठनपाठन खुल्ला चौरमा गर्नुपरिरहेको छ । प्रधानाध्यापक लालबहादुर खत्रीका अनुसार हाल १ सय ६० विद्यार्थी चौरमा पढ्ने गरेका छन् । ‘घाम लागेका बेलामात्र नियमित पढाइ हुन्छ’, उहाँले भन्नुभयो, ‘घाम नलागे जाडोका कारण पढाइ बन्द हुन्छ ।’

वर्षाका कारण बाढीपहिरोले जिल्लाभरि ६५ विद्यालयमा आं शिक क्षति भएको छ । दुई विद्यालयमा पूर्ण रुपमा क्षति पुगेको सामाजिक विकास कार्यालयका प्रमुख वीरबहादुर धामीले जानकारी दिनुभयो । भौतिक संरचनातर्फ रु १० करोड ८१ लाख बराबरको क्षति भएको छ । —रासस