फाइल तस्वीर ।
काठमाडौंं– जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा आज मङ्सिर १ गते यो वर्षकै कम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । उपत्यकामा यस वर्षको आजको दिन बढी चिसो महसुस गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हिजो मङ्गलबार काठमाडौंको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो । चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम सुरु हुन्छ । केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव चार डिग्री र अधिकतम तापक्रम २१ दशमलव आठ डिग्री सेल्सियस रहने छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । रासस