काठमाडौं – नेपाल बार एसोसिएशन र सर्वोच्च बारका पदाधिकारीले सर्वोच्च अदालतका काममा फर्किएका पाँच जना न्यायाधीशहरुसँग वार्ता गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरुको समूहबाट बाहिरिएका पाँच जना न्यायाधीशहरुसँग नेपाल बार र सर्वोच्च बारेका पदाधिकारीले अहिले वार्ता गरिरहेको छ ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै अधिकांश रुपमा इजलास बहिस्कार गरेका र बन्दी प्रत्यक्षीकरणको मुद्दामात्रै हेरेका न्यायाधीशहरुमध्ये पाँचजनाले मङ्गलबारदेखि नियमित काममा फर्किएका थिए । यसरी नियमित काममा फर्किने न्यायाधीशहरुमा तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार चुडाल, कुमार रेग्मी र मनोजकुमार शर्मा रहेका छन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आएकोमा हिजोदेखि इजलासमा फर्कने निर्णय गरेका थिए । पछिल्लो समय सर्वोच्चका न्यायाधीशहरु दुई खेमामा विभाजित भएका थिए ।

यसै विषयलाई लिएर आज नेपाल बार र सर्वोच्च बारका पदाधिकारीले ति पाँच जना न्यायाधीशहरुसँग वार्ता गरेका छन् । कानून व्यवसायीहरुको आजको आन्दोलनलाई सम्बोधन गर्ने क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीशहरुलाई इजलासमा नजान चेतावनी दिएका थिए । प्रधानन्यायाधीश राणा विरुद्धको आन्दोलन थप पेचिलो बन्दै गएको छ । सत्तारुढ दलहरुको अहिलेसम्म आधिकारिक रुपमा स्पष्ट धारणा आउन सकेको छैन ।