काठमाडौं– आन्दोलनमा उत्रेका कानून व्यवसायीहरुले आज पनि सर्वोच्च अदालत परिसरमा नारावाजी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा आन्दोलन गरिरहेका कानून व्यवसायी र सुरक्षा बलबीच धकेला धकेल भएको छ ।

नेपाल बार एसोसियसनको अगुवाइमा प्रधानन्यायाधीश राणा विरुद्ध राजीनामा माग गर्दै आन्दोलन गर्दै आएका कानून व्यवसायीहरु सर्वोच्च अदालतको मुल गेटमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले प्रधानन्यायाधीश विरुद्ध नाराबाजी गर्दै सर्वोच्च प्राङ्गणमा प्रवेश गरेका छन् । त्यसक्रममा कानून व्यवसायी र त्यहाँ तैनाथ सुरक्षाकर्मीहरुबीच धकेलाधकेल भएको थियो । आन्दोलनकारी र प्रहरीबीच योक्रम गतहप्तादेखि चलिरहेको छ ।

कानून व्यवसायीहरुले प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउन भन्दै मूलगेटमा धर्नादिंदै आएका छन् । तर प्रधानन्यायाधीश जबरा चोर बाटोबाट अदालत पुग्ने र इजलास तोक्ने काम गर्दै आएका छन् ।

नेपाल बारले आगामी शुक्रबारभित्र प्रधानन्यायाधीशलाई राजीनामा दिन अल्टिमेटम दिएको छ । बारले न्यायालय सुधारका लागि प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ । नेपाल बारले कार्यपालिकामा भाग खोजेको, भ्रष्टाचारलाई सहयोग गरेकोसहितका विभिन्न आरोप प्रधानन्यायाधीश राणामाथि लगाइएको छ । राणाका विरुद्ध सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरु समेत आन्दोलन छन् ।