काठमाडौं– दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदैछन् । उनी माल्दिभ्सको भ्रमण सकेर बुधबार साँझ काठमाडौंं आइपुग्ने छन् । उनी माल्दिभ्सको भ्रमण सकेर मालेबाट काठमाडौँ आउन लागेका हुन् ।

सहायक विदेशमन्त्री लूको नेपाल भ्रमण मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा केन्द्रीत हुने बताइएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा विवादित भैरहेको बेला त्यसलाई कसरी निरुपण कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउने भन्ने विषयमा छलफल गर्न आउन लागेका हुन् । लूले नेपाल बसाइको क्रममा एमसिसी तथा नेपाल–अमेरिका सम्बन्धका विभिन्न पक्षमा कुराकानी गर्ने बताइएको छ ।

भ्रमणको क्रममा द्विपक्षीय सहयोग तथा साझेदारीबारे छलफल हुने परराष्ट्र मन्त्रालयको भनाइ छ । मुख्यतया अमेरिकी सहयोग एमसीसीकै कुरामा केन्द्रीत रहने बुझिएको छ ।

एमसीसी परियोजनको विषमा नेपालमा ठूलो मत मतान्तर रहँदै आएको छ । अमेरिकाले एमसीसी कार्यान्वयन हुने–नहुने अब नेपालकै हातमा रहेको बताउँदै आए पनि आफ्नो तर्फबाट पहल भने जारी राखेको छ । अमेरिकाले नेपाललाई कुटनीतिक रुपबाट एमसीसी परियोजना संसदबाट पास गर्न दवाव दिंदै आएको छ । अहिले हुन लागेको सहायक विदेशमन्त्री लूको भ्रमणलाई पनि त्यसकै निरन्तरताका रुपमा हेरिएको छ ।