काठमाडौं– ‘भ्रष्टाचारी र बिचौलियाको नाइकेसँग अब कुनै किसिमको वार्ता हुँदैन’ भन्दै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीशसँग अब कुनै वार्ता नहुने बताएका छन् । सर्वाेच्च अदालत परिसरमा आज सोमबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष शाक्यले उक्त धारणा व्यक्त गरेका हुन् ।


यो गतिरोध अन्त्यका लागि अबको निकास भनेको सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदबाट चोलन्द्र समशेर जबराको बहिर्गमन मात्रै हो भन्दै सर्वोच्च बारका अध्यक्ष शाक्यले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आफूहरूले सुरु गरेको धर्ना कार्यक्रम यथावत रहने बताए छन् । विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष शाक्यले आन्दोलनमा सहभागी हुन देशभरका बार इकाइहरुलाई समेत बोलाउने तयारी भैरहेको जानकारी गराएका छन् ।


प्रधानन्यायाधीश राणाले आज एक विज्ञप्ती जारी गर्दै कानून व्यवसायीहरुलाई संवादमा फर्कन आग्रह गरिएकोप्रति टिप्पणी गर्दै अध्यक्ष शाक्यले राणाले संवादमा आउन गरेको आग्रहको जवाफ आफूहरूले पनि वक्तव्यबाटै दिने बताएका छन् । अध्यक्ष शाक्यले ‘वक्तव्यबाट हामीलाई बोलाएक छन् रे । आफ्नो कार्यालयमुनि भइरहेको आन्दोलनको वास्ता नगरेर वार्ता गर भनेर वक्तव्य निकाल्ने ? वक्तव्यको जवाफ हामी पनि वक्तव्यबाट दिन्छौं’ भनेका छन् । प्रधानन्यायाधीश र कानून व्यवसायीहरुबीच दोहोरी चल्न थालेको छ ।