काठमाडौं – न्यायाधीश र कानून व्यवसायीहरुले इजलास बहिस्कार गरिरहँदा पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज पनि बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । दश वटा इजलासमा पेसी तोकेका राणाले आफ्ना लागि भने पूर्ण एकल इजलासमा पेसी तोके ।

आठ वटा संयुक्त र दुई वटा एकल इजलासमा पेसी तोकिए पनि मुद्दाको सुनुवाइ हुन सकेको छैन । यही कार्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीश राणामाथि मन्त्रिमण्डल विस्तार लगायत अदालतमा बढ्दो भ्रष्टाचारको विषय कारण न्यायालयप्रति प्रश्न उठेको पछि कानून व्यवसायीसहित सर्वोच्चका १९ जना न्यायाधीशहरु समेत आन्दोलनमा छन् । प्रधानन्यायाधीश नै भागबण्डाको राजनीतिमा लागेको भन्दै सर्वोच्चका न्यायाधीशहरुले इजलासमा गएर सुनुवाइ गर्न इन्कार गर्दै आएका छन् ।

यही कारण सर्वोच्च अदालतमा यही कार्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । यद्यपि, बीचबीचमा बन्दीहरुको मुद्दामा मात्र सुनुवाइ हुँदै आएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् ।

अदालतमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । कानून व्यवसायीहरुको आन्दोलन र न्यायाधीशहरु इजलासमा नबस्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् । त्यसै विषयलाई लिएर आज पनि सर्वोच्च अदालत परिसर वरपर प्रधानन्यायाधीशको समर्थन केहीले नाराबाजी समेत गरेका थिए ।