फाइल तस्वीर ।


काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनको उद्घाटन हुनु पूर्व नै पार्टी नेतृत्वका लागि आकांक्षीहरुले मनोनयन दर्ता गर्नुपर्ने भएको छ । काङ्ग्रेसले यस पटक विशेष नीति बनाएर १४ औं महाधिवेशनलाई नेतृत्व चयनमा मात्रै सीमित गर्न लागेको हो ।

पटक पटक मिति सार्दै आएको काङ्ग्रेसले पार्टीको १४ औं महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म तीन दिन काठमाडौंमा गर्ने भएको छ । उक्त अधिवेशमा हुने निर्वाचन समितिको कार्यतालिकालाई आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेको हो ।

पार्टीको महाधिवेशन मङ्सिर २४ गते उद्घाटन हुने हुनेछ । तर नयाँ नेतृत्वका लागि भने मङ्सिर २१ गते नै उम्मेदवारी मनोनयन गर्ने व्यवस्था मिलाएको छ । पार्टी कार्यालयका अनुसार २१ गते मनोनयन दर्ता, २४ गते महाधिवेशन उद्घाटन र २५ गते नयाँ नेतृत्वका लागि मतदान हुनेछ ।

महाधिवेशन पार्टीको सिद्धान्छ, नीति र कार्यदिशाका केन्द्रीत हुनु पर्नेमा यसपटक नेपाली काङ्ग्रेसको महाधिवेशन नीतिमा भन्दा नेतृत्वमा केन्द्रित हुने देखिएको छ । पार्टीको नीति र भावि कार्यदिशा नेतृत्व चयनको छायाँमा परेको देखिन्छ । यसपटकदेखि काङ्ग्रेसले छुट्टै नीति महाधिवेशन गर्ने भएको हो । नीति महाधिवेशन कहिले गर्ने भनेर मिति भने तोकिएको छैन । यद्यपि, नीति महाधिवेशनको छिट्टै गर्ने गरी मिति सार्वजनिक गरिने पार्टी कार्यालयले जनाएको छ ।