फाइल तस्वीर ।

काठमाडौं – ‘बार र बेञ्च न्यायको एकै रथका दुई पाङ्ग्रा’ भएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफु विरुद्ध आन्दोलनमा उत्रिएका कानून व्यवसायीहरुलाई संवादमा आउन विज्ञप्तीमार्फत् आग्रह गरेका छन् । प्रधानन्यायाधीश राणाले आज विज्ञप्ती निकाल्दै यस्तो धाराणा सार्वजनिक गरेका हुन् ।

न्यायालय जहिले पनि विधिको मार्गमा हिँड्नुपर्ने उल्लेख गर्दै प्रधानन्यायाधीश राणाले न्यायाधीश र नेपाल बार एशोसिएनले आन्दोलन गर्दै आएको विषयलाई सम्बोधन गरी आज सोमबार एक विज्ञप्ती जारी गरेका छन् । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएका छन् । उनले न्यायपालिकामा उत्पन्न गतिरोधबारे चिन्ता व्यक्त गर्दै विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासहरू कतैबाट हुँदा सम्पूर्ण न्यापालिका एकताबद्ध भएर सामना गर्दै आएको स्मरण गराएका छन् ।

प्रधानन्यायाधीश राणाद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा ‘न्यायपालिकाले सधैँ विधिको बाटोमात्र हिँड्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गरेको हुन्छ । विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासहरू कहीँकतैबाट हुँदा सम्पूर्ण न्यायपालिका एकताबद्ध भई आवश्यक आत्मावलोकनसहित सामना गर्दै आएको छ’– भनिएको छ ।

प्रधानन्यायाधीश राणाले आन्दोलनरत बार एसोसियसनलाई वार्तामा आउन आग्रह गरेका छन् । ‘विधिको पक्षमा कर्तव्य निर्वाह गर्ने सिलसिलामा यदाकदा प्रश्नहरू उठ्दा त्यसलाई तत्काल सम्बोधन गर्दै बार एसोसियसन र न्यायपालिकाबीच हातेमालो हुने गरेको उल्लेख गरेका छन् ।

‘पारस्परिकता र हार्दिकताको त्यो क्रम जहाँबाट टुटेको छ, त्यहीँबाट समाधानको सम्भावना खोज्न सकिन्छ । विधिको पक्षमा दृढतापूर्वक उभिँदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी सबैमा हार्दिक आह्वान गर्दछु ।’ प्रधानन्यायाधीशद्वारा विज्ञप्तिमा भनिएको छ ।

प्रधानन्यायाधीश राणाले गएको बिहीबार सर्वाेच्च अदालत परिसरमा वकिलहरुको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति पनि विज्ञप्तीमार्फत् दुःख व्यक्त गर्दै आगामी दिनमा त्यस्ता गतिविधि दोहोरिन नदिन न्यायपालिकाको प्रमुखका हैसियतले आफु त्यसप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल बार एसोसियसन, सर्वोच्च अदालत बार एसोसियसनलगायतका बार ईकाइहरू न्यायपालिकाको अभिन्न अङ्ग हुन् भन्दै प्रधानन्यायाधीश राणाले ‘वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल बार एसोसियसन र सर्वोच्च अदालत बार एसोसियसनलाई संवादका लागि आह्वानसमेत गर्दछु’ भनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

न्यायपालिकाको गरिमा र सम्मान जोगाउन प्रधानन्यायाधीशको जत्तिकै अग्रसरता बार एसोसियसन र यसका ईकाइहरूबाट पनि अपेक्षा हुने भन्दै न्यायको एकै रथका दुई पांग्राका रूपमा रहेका बार र बेन्चले आफ्नो दायित्व मनन गरी न्यायको रथलाई फेरि जनताको सेवामा निर्वाध गुडाइरहनुपर्ने बताएका छन् । राणाले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सन्दर्भमा खुला हृदयका साथ अग्रसरता लिन तयार रहेको पनि विज्ञप्तीमा भनेका छन् ।

‘अत्यन्त दुःखका साथ भन्नुपर्दछ, विगतका केही हप्ता हाम्रो न्यायपालिकाको इतिहासमा कहिल्यै हुन नहुने वा हुन नपर्ने घटनाहरूको कारणबाट स्मरण गरिनेछन् । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै संविधानसभाबाट जारी नेपालको संविधानको सफल कार्यान्वयन गर्न राज्यका सबै अङ्गसहित राज्यका सम्पूर्ण निकायहरू एकताबद्ध हुनुपर्ने खाँचो रहेकै समयमा संविधानद्वारा स्थापना भएको सर्वोच्च न्यायिक अङ्ग र यसका प्रमुखमाथि एकपक्षीय ढङ्गले निरन्तर रुपमा अत्यन्तै तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाउने काम भइरहनु अत्यन्त चिन्ताजनक विषय हो ।’ प्रधानन्यायाधीश राणाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।