काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरुद्धको आन्दोलनलाई प्रतिकार गर्न परिचालित करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन र कानुन व्यवसायीहरुको विरोध गर्दै सडकमा निस्किएको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न आज आइतबार दुई वटा छुट्टाछुट्टै समूह सडकमा आएका थिए । बार एशोसिएसनले सर्वोच्च अदालत परिसरभित्रै विरोधको कार्यक्रम आयोजना गरिरहेको समयमा प्रधानन्यायाधीशको समर्थनमा केहीले सडकमा नाराबाजी गर्दै सडक अवरुद्ध समेत पारेका थिए । यसै क्रममा प्रतिकारमा उत्रिएका र सर्वोच्च अदालतको सुरक्षामा खटिएका प्रहरीबीच केहीबेर झडप समेत भएको थियो । सो क्रममा एक प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् ।

यसैबीच नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेर प्रतिकार समूह बनाएको आरोप लगाएको छ । सर्वोच्च अदालत परिसरमा आइतबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै बारका पदाधिकारीहरुले भ्रष्टाचार गरेको रकम प्रयोग गरेर कानुन व्यवसायीको आन्दोलनलाई दबाउन खोजिएको आरोप लगाएका छन् । प्रहरीले प्रतिकारमा उत्रिएका ५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।