काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशहरुले नेपाल बार एसोसिएसन बहसका लागि इजलासमा नआएसम्म इजलासमा नजाने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आएका सर्वाेच्च अदालतका १९ जना न्यायाधीशले नेपाल बार बेञ्चमा आएर बहस नगरेसम्म इजलासमा नजाने भएका हुन् ।

कार्यपालिकासँग राजनीतिक भागबण्डा खोजेकोलगायत अदालतमा विचौलीयाको काम गरेको, सर्वोच्च अदालतलाई भ्रष्टाचारको अखडा बनाएको लगायत विभिन्न आरोप लगाएर प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै १९ जना न्यायाधीश र बार आन्दोलनमा उत्रिएका छन् ।

सुरुमा इजलासमा नबसेका न्यायाधीशहरूले पछिल्लो केही दिन बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरेका थिए । तर, बिहीबार र शुक्रबार सर्वाेच्च परिसरमा कानुन व्यवसायीमाथि भएको प्रहरी हस्तक्षेपपछि उनीहरूले अब बार बेञ्चमा आएर बहस नगरेसम्म इजलास नफर्कने र कुनै पनि मुद्दा नहेर्ने निर्णयमा पुगेका छन् ।

‘शुक्रबार पनि बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरेनौं’, एक न्यायाधीशले भने, ‘अब हामी बार बहसका लागि बेञ्चमा नआएसम्म हामीहरू इजलासमा जाँदैनौं र कुनै पनि मुद्दा हेर्दैनौं ।’

न्यायाधीशहरूले हिजो बिहिबार र आज शुक्रबार कानुन व्यवसायीमाथि सुरक्षाकर्मीबाट भएको हातपात र बल प्रयोगप्रति दुःख व्यक्त गर्दै बारको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

‘हिजो र आज सर्वाेच्च परिसरमै कानुन व्यवसायी घाइते हुने गरी भएको प्रहरीको बल प्रयोगप्रति हामीलाई दुःख लागेको छ’, ती न्यायाधीश भन्छन्, ‘बारको आन्दोलनप्रति हाम्रो ऐक्यबद्धता छ ।’ अहिले भइरहेको विवाद र समस्याको समाधान प्रधानन्यायाधीश राणाले दिनुपर्ने र यसका लागि उनले राजीनामा दिनुपर्ने ती न्यायाधीशको तर्क छ ।

बिहीबार सर्वाेच्च परिसरमा छ जना कानुन व्यवसायी घाइते हुने गरी प्रहरीले बल प्रयोग गरेको थियो । त्यसपछि बारले शुक्रबार प्रधानन्यायाधीश राणालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी धर्ना दिएको थियो । तर, राणाले दैनिक प्रयोग गर्ने मुल गेटबाट नगै अर्कै गेटबाट सर्वोच्च अदालत पुगेर आफ्नो कार्यकक्षमा पुगेका थिए ।

कानुन व्यवसायीमाथि भएको हातपातको विरोध र प्रधानन्यायाधीश राणाले राजीनामा नदिएसम्म नेपाल बार एसोसिएसनले बहस पैरवीमा सहभागी नहुने बताएको छ । बारले आन्दोलनका थप कार्यक्रम ल्याउन सक्ने बताएको छ ।