काठमाडौं – आन्दोलनकारी कानुन व्यवसायीहरुलाई छल्दै अदालत प्रवेश गरेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि आठ इजलास तोकेका छन् । प्रधानन्यायाधीश जबराले शुक्रबार एकल इजलास र सात संयुक्त इजलास तोक्नुको साथै आज सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।सर्वोच्चले दिएको जानकारी अनुसार आज प्रधानन्यायाधीश जबराले आफ्नो लागि भने कुनै इजलास तोकेका छैनन् ।


यता नेपाल बार एशोसिएसनले भने हिजो बिहिबार एक विज्ञप्ती निकाल्दै शुक्रबार बन्दी प्रत्यक्षीकरणलगायतका सबै किसिमका मुद्दाको इजलास बहिष्कार गर्ने घोषणा गरेको थियो । बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस गर्न नजाने निर्णय गरेको बारले शुक्रबार भने सबै इजलास बहिष्कार गर्ने घोषणा गरेको हो ।


त्यस्तै कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भनिएता पनि चोर बाटोबाट जबरा सर्वोच्च अदालतमा प्रवेश गरेका थिए । बिहीबरको प्रदर्शनमा प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल भएपछि आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने कानुन व्यवसायीले घोषणा गरेका थिए । प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउन कानुन व्यवसायीहरु सफल हुन सकेनन् । यतिखेर सर्वोच्च अदालत परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । त्यहाँको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।