काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनलाई लक्षित गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज बस्ने भएको छ । वरिष्ठ नेता पौडेलले आज शुक्रबार दिउँसो २ बजेका लागि आफू निकट केन्द्रीय नेताहरूलाई काठमाडौंको दियालो फुडल्यान्डमा भेला हुन निर्देशन दिनुभएको हो । बैठकमा आगामी महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तयार गर्न आजको बैठक केन्द्रीत हुने बताइएको छ ।
यो बैठकले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने रणनीति समेत तय गर्ने छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन महिना पछि बस्न लागेको छ । काङ्ग्रेसले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकका साथै केन्द्रीय कार्यसमितिको बैठक समेत गर्न लागेको छ । पार्टीले कात्तिक २७ गतेका लागि पदाधिकारी र पूर्व पदाधीकारीहरूको बैठक बोलाएको छ भने २८ गते पार्टी केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । पार्टीको १४ औं महाधिवेशन आगामी मङ्सिर अन्तिम सातामा हुने भएको छ ।

बैठकमा कात्तिक २७ बाट हुने १४ औं महाधिवेशन अन्तर्गत बाँकी रहेका जिल्लाहरूको वडा अधिवेशनको विषयमा रणनीतिक छलफल गर्ने समूहको योजना छ । अन्य तहहरूको अधिवेशनको विषयमा समीक्षा र भावी कार्ययोजनाको विषयमा पनि छलफल हुने बताइएको छ ।