फाइल तस्वीर ।
काठमाडौं – नेपाल बार एशोसिएसनले बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै निर्देशनमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि आक्रमण भएको ठहर गरेको छ ।

उक्त विज्ञप्तीमा ‘प्रधानन्यायाधीशले विभिन्न विचौलिया, भिजिलान्तेहरुको प्रयोग गरी २०४६ सालमा पञ्चायतको अन्त हुँदा ताका प्रतिकार समिति गठन गरी लोकतन्त्रप्रेमी, न्यायप्रेमी जनता विरुद्ध प्रयोग गरेकै शैलीमा विभिन्न हतकण्डाहरु गरिआएको र आजको शान्तिपूर्ण विरोध सभामा प्रधानन्यायाधीशको ठाडो आदेशमा हतियार सहितका सुरक्षाकर्मीहरु अदालतभित्रै प्रवेश गराई शान्तिपूर्ण कार्यक्रममा रहेका कानून व्यवसायी माथि अत्याधिक बल प्रयोग र हातपात गरेको’ भनिएको छ ।

आज सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश विरुद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरु माथि प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य, उपाध्यक्ष एवं अधिवक्ता रक्षा वस्याल, महासचिव एवं अधिवक्ता लीलामणि पौडेल, पूर्व केन्द्रीय सदस्य रमणकुमार कर्ण, अधिवक्ता मुकुन्द भट्टराई लगायतका कानुन व्यवसायी घाइते भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपाल बारका महासचिव लीलामणि पौडेलद्वारा जारी गरिएको विज्ञप्तीमा ‘प्रधानन्यायाधीशको यस्तो हर्कतको नेपाल बार एशोसिएशनलहे घोर निन्दा र भर्त्सना गर्दछ, भन्दै ‘यस्तो हर्कत भविष्यमा नदोहोर्याउन चेतावनीसमेत दिन चाहन्छौं’ भनिएको छ ।

आफ्नै अदालत र कानून व्यवसायीबाट मात्र नभएर आम नागरिकबाटै बहिष्कृत प्रधानन्यायाधीशको विरोधमा नेपाल बार एशोसिएशन र आवद्ध सम्पूर्ण एकाईहरुले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ । बार एशोसिएसनले शुक्रबार सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्धामा बहस पैरवी नगर्ने, बेन्च बहिष्कार गर्ने र न्यायाधीशलाई समेत प्रधानन्यायाधीशले तोक्ने वा तोकेका इजलासमा नबस्न अपिल गरेको छ ।