फाइल तस्वीर ।
काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि ‘बिचौलियाका नाइके’ भएको गम्भीर आरोप लगाइएको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाशीध जबरामाथि यस्तो आरोप लगाउनु भएको हो ।

सर्वोच्च अदालतको परिसरमा रहेको नेपाल बारले आयोजना गरेको विरोध प्रदर्शनक्रममा बारका अध्यक्ष श्रेष्ठले ‘प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्, उनीबाट न्याय पाउन सकिँदैन’ भन्ने जिकिर गर्नुभएको छ ।बारका अध्यक्ष श्रेष्ठले अहिलेको अवस्थामा प्रधानन्यायाधीश जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न सबैलाई आग्रह समेत गर्नु भएको छ ।


सोही विरोध कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीशको राजीनामा र महाभियोगका लागि पर्याप्त आधार तयार भइसकेको दावी गर्नुभयो । उहाँले अहिले न्यायाधीशहरू पनि आन्दोलमा रहेकाले के आधारमा आन्दोलनमा लागेको हो, त्यसका कारणहरू सार्वजनिक गर्न माग गर्नु भएको छ । सर्वोच्च अदालतमा विकसित पछिल्लो घटनाक्रमका बारेमा सरकार र सत्ता गठबन्धन दलहरु किन मौन बसेको हो भन्दै अब सरकारको नेतृत्व गरेका प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनविरुद्ध पनि आवाज उठाउनुपर्नेमा जोड दिनुभएको छ ।