काठमाडौं – प्रधानन्यायाशीध चोलन्द्र समशेर जबरा विरुद्ध आन्दोलनमा उत्रिएका सर्वोच्चका न्यायाशीधहरुले आज इजलास बहिस्कार गरेका छन् । न्यायाधीशसँगको सहमति विपरीत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले झुक्याएर अदालतको नियमित काममा फर्काउनको प्रयास विफल भएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै तीन सातादेखि आन्दोलनमा उत्रिएका १९ न्यायाधीशसँग प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको पेशी नतोक्ने र आफ्नो इजलास नराख्ने सहमति गरेका थिए । यसअघि सहमति अनुसार बन्दी प्रत्यक्षीकरणको मुद्दाको मात्र पेशी तोकेका प्रधानन्यायाधीश जबराले आज मङ्गलबार भने नियमित ढङ्गले इजलास तोकेपछि न्यायाधीशहरु इजलासमा नबसी बाहिरिएका छन् ।

प्रधानन्यायाधीश जबराले मङ्गलबार न्यायाधीशहरु तेजबहादुर केसी र डा. मनोजकुमार शर्माको इजलासमा एउटा बन्दी प्रत्यक्षीकरणको रिटका साथमा १२ वटा मुद्दा राखेका थिए । आफ्नो एकल र अरु न्यायाधीशको ८ वटा संयुक्त इजलासमा भने बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको पेशी तोकेपछि न्यायाशीधहरुले इजलास बहिस्कार गरेका हुन् ।

न्यायाधीश केसी र शर्माको इजलासले एउटा बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गरेको छ भने बाँकी मुद्दा ‘हेर्न नभ्याइने’ मा राखेको छ । अरु न्यायाधीशको भने इजलास नै बसेन । प्रधानन्यायाधीश जबराले भने आफ्नो एकल इजलासमा मुद्दाको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकेका छन् । प्रधानन्यायाधीश जबराको इजलासले एउटा मुद्दामा कारण देखाउ आदेश गरेको छ भने अर्को मुद्दालाई तामेलीमा राखेको छ । एउटा मुद्दा हेर्न नमिल्ने आदेश गरेको प्रधानन्यायाधीशको इजलासमा अरु तीन मुद्दा सुनुवाइ गर्न अझै बाँकी छ ।