फाइल तस्वीर ।
रुपन्देही – सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अहिलेको वर्तमान संविधान संशोधन नभए जनताले अर्को संविधान बनाउने बताएका छन् । अध्यक्ष यादवले ‘काङ्ग्रेस र कम्युनिष्ट मिलेर बनाएको संविधान त्रुटिपूर्ण छ’ भन्दै ‘यसलाई संशोधन गर्नुपर्छ अन्यथा जनताले अर्को संविधान बनाउँछन्’ भनेका छन् ।

रुपन्देहीको धकधईमा आज सोमबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सङ्घीयता विरोधीले नै संविधान बनाएकाले संविधानको संशोधन अपरिहार्य रहेको बताए ।

देशका सातै प्रदेशको नक्साङ्कन र नामाकरण अव्यवहारिक र अवैज्ञानिक रहेको भन्दै अध्यक्ष यादवले उच्चस्तरीय राज्य पुनःसंरचना आयोगको प्रतिवेदन अनुसार १० वटा प्रदेश नै उचित भएको बताएका छन् । ‘५–७ जना मन्त्री बनेर झण्डावाला गाडी चढेर मात्र हुँदैन’, ‘प्रदेश स्वायत्त र अधिकारसम्पन्न बनाउनुपर्छ’ – यादवले भने ।

जनसङ्ख्याको आधारमा हरेक वर्ग र समुदायको राज्यका निकायमा समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा अध्यक्ष यादवको जोड थियो । अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली अत्यन्तै महङ्गो र गलत भएकाले देशको हितका निम्ति पूर्ण समानुपातिक प्रणाली हुनुपर्नेमा बताएका छन् ।

अध्यक्ष यादवले अहिलेको संसदीय प्रणाली पनि असफलतातिर गएको भन्दै अध्यक्ष यादवले ‘सांसद खरिद बिक्री भइरहेको छ, यो दोष नेताको भन्दा पनि प्रणालीको हो’ भनेका छन् ।