फाइल तस्वीर ।

सिन्धुली – नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई आगामी दिनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलले नेतृत्व गर्न नसक्ने जिकिर गर्नु भएको छ । पार्टीको आसन्न १४ औं महाधिवेशनलाई लक्षित गर्दै सिन्धुली पुगेको नेता प्रकाशमान सिंहले अब पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी चल्न नसक्ने बताउनु भएको हो ।

नेता सिंहले काङ्ग्रेसलाई बलियो बनाउने हो भने नेतृत्व परिवर्तन गर्नुको विकल्प नभएको भन्दै ‘अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन, पार्टी बलियो बनाएर देशको भविष्य सुन्दर बनाउन नेतृत्व परिवर्तनको विकल्प छैन’ भन्नुभएको छ । काङ्ग्रेसमा नेतृत्व परिवर्तनका लागि मिसन र भिजनका साथ आफू प्रस्तुत भएको भन्दै नेता सिंहले आफूसँग काङ्ग्रेस हाँक्ने दृढ इच्छाशक्ति, विचार र सही योजनाहरु रहेको दाबी समेत गर्नुभएको छ । सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा नेता सिंहले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

नेता सिंहले क्षणिक लाभका लागि पार्टी र देशको भविष्य बर्वाद हुनबाट जोगाउन पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । ‘बेथितिबाट अब काङ्ग्रेस र देश चल्दैन भन्दै सिंहले कार्यकर्ताहरुलाई ‘पदको लोभ नगर्न, पैसाको क्षणिक लाभ नहेर्न र पार्टीको भविष्य हेर्न आग्रह गर्नुभयो । नेता सिंहले ‘छोरा नाति पनातिको भविष्य हेर्नुहोस् । राम्रो नेता चुनेर पठाउनुहोस् । काङ्ग्रेस बचाउनुहोस्’ भन्नुभयो ।