काठमाडौं– अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव हाल नेपालमा देखिएकोे छ । निम्न चापीय प्रणालीले गर्दा नेपालका अधिकांश क्षेत्रको मौसममा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको जारी सूचना अनुसार प्रदेश एक तथा गण्डकी प्रदेशको हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हिमपातको सम्भावना भएकोले त्यसक्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

महाशाखाले जनाए अनुसार आज सोमबार दिउँसो देशका प्रदेश नम्बर एक र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ । आज राति देशभर आंशिक बदली रहने मौसमविद्हरुले बताएका छन् ।

मौसमविद्का अनुसार भोली मङ्गलबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।