प्रतीकात्मक तस्वीर
काठमाडौं — मकवानपुरको नेवारपानीमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा हिजो राति काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बसले देउसी भैलो खेल्न हिँडिरहेका युवाको समूहलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१९, नेवारपानी निवासी २० वर्षका सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षका प्रेमबहादुर सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

रौतहटको गौरबाट हेटौंडा हुँदै काठमाडौंतर्फ जादै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी भैलो खेल्न हिँडेका पैदल यात्रुलाई ठक्कर दिएको उनले बताउनुभयो । बसको ठक्करबाट अन्य ८ जना घाइते भएका छन् । घाइते हुनेमा सङ्गम नेपाली, निशा मोक्तान, तुलसा बिष्ट र लक्ष्मी गुरुङ लगायतका छन् । उनीहरुको हेटौडा तथा भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पछि ठक्कर दिने बसमा स्थानीयहरुले आगजनी गरेका छन् । आगजनीबाट बस पूर्ण रूपमा जलेर नष्ट भएको छ । दुर्घटनापछि बसका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।