फाइल तस्वीर ।
काठमाडौं – नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले आगामी तीन तहको निर्वाचनमा नेकपा एमाले पराजित भै तेस्रो पार्टी बन्ने दावी गर्नुभएको छ । काङ्ग्रेसको भक्तपुर सूर्यविनायक नगरपालिका–४ ले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता थापाले एमालेलाई केन्द्रदेखि स्थानीय तहसम्मका सबै निर्वाचनमा हराउने बताउनु भएको हो ।

गत निर्वाचनमा जनताले एमालेलाई पाँच वर्षका लागि शासन सञ्चालन गर्न मतदानमार्फत् म्यान्डेट दिएता पनि एमालेले उक्त जनमतलाई कदर नगरी मुलुकलाई झन अस्थिरतातर्फ धकेलेको आरोप लगाउँदै ‘पाँच वर्ष आरामले सरकार सञ्चालन गर्नुपर्नेमा राज्य अस्तव्यस्त बनाउने काम भयो । त्यसकारण एमालेले दण्ड पाउनैपर्छ । एमालेलाई माथिदेखि तलसम्म कुचो लगाएर बढार्ने हो । यसका लागि काङ्ग्रेसका सबै नेता कार्यकर्ताहरुले एउटा सङ्कल्प गर्नु पर्नेछ’ भन्नुभएको छ ।

नेता थापाले तीन वर्षमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा भद्रगोल अवस्था सिर्जना गरेको जीकिर गर्दै सर्वोच्च अदालतमा देखिएको विवादको कारक पनि ओली सरकार भएको नेता थापाले ठोकुवा गर्नुभयो । ‘आज अदालतमा जुन खालको परिस्थिति छ, त्यसमा पनि ओली नै दोषी हुन् । अदालतमा सेटिङ गर्ने ओलीको कार्यशैलीको परिणाम हो,’ भन्दै नेता थापाले ‘अख्तियारमा आफ्ना मान्छेहरु भर्ती गर्ने काम भयो । एमाले सरकारले राज्यका सबै ठाउँमा पछिल्ला तीन वर्षमा भद्रगोल अवस्था सिर्जना गरिदिएको छ’ भन्नु भएको छ ।

एमाले पार्टी नभई ओली कम्पनी लिमिटेड भएको आरोप काङ्ग्रेस नेता थापाले बताउनु भएको छ । ‘फरक मत राख्ने भीम रावल र घनश्याम भुषाल छन् । विचरा भिम रावल देख्दा माया लागेर हुन्छ । फरक मत राख्नेलाई ओलीले कुन दिन पार्टीबाट निकाल्छन् । त्यसैले त्यो नेकपा एमाले होइन, ओली प्राइभेट लिमिटेड हो । ओली प्राइभेट लिमिटेडले दण्ड पाउनैपर्छ’– नेता थापाको भनाइ छ ।