जाजरकोट– कर्णाली प्रदेश अन्तर्गत पर्ने जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुको साथै एक जना घाइते भएका छन् । कालीमाटीबाट बारेकोट सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१ त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा आज बुधबार बिहान २ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा नलगाड नगरपालिका– ७ का ३५ वर्षीय चङ्कलाल विश्वकर्मा, वडा–५ का २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय दलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जाजरकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुकुमार थापाका अनुसार नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । घाइते परियार उक्त ट्याक्टरका सह–चालक रहेको प्रहरीले बताएको छ ।

घाइते सह–चालक परियारको अवस्था गम्भीर रहेको डीएसपी थापाले बताएका छन् । प्रहरीले बताए अनुसार ट्याक्टर मालिक चङ्कलालले नै ट्याक्टर चलाएका थिए ।