काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो र न्यायालयको इज्जत राख्ने हो भने तत्काल राजीनामा दिनु पर्ने वरिष्ठ अधिवक्तारुले बताउनुभयो । वरिष्ठ हरिहर दाहालले भन्नुभएको छ, ‘विवादमा परेको मानिसको कसरी सम्मानजनक बहिर्गमन हुन्छ ? यो कसरी सम्भव हुन्छ ? संस्थाको मर्यादा र आफ्नो मर्यादा कायम गर्ने हो भने राजीनामा दिनुपर्छ ।’

उहाँले सुनुवाइको माग गर्दै सेतोपट्टी लगाएर प्रदर्शन गर्नेहरुलाई विभाजित नहुन आग्रह गरिएको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सेतोपट्टी लगाउनेहरुलाई अनुरोध विभाजन नहुनुस्, न्यायाधीशमा पनि विभाजन ल्याउन खोजिएला । संस्थाको मर्यादा रहोस् हामीलाई केही पाउन छैन।’ आफूहरुको अभियान न्यायालय शुद्धिकरणका लागि रहेको उहाँले बताउनुभयो ।

उहाँले भने, ‘सर्वोच्च अदालतले नै बनाएको समितिले प्रतिवेदन दिएको थियो । दसैंअघि प्रधानन्यायाधीशले सर्वोच्चमा रहेको प्रतिवेदनबारे नकारात्मक धारणा राख्नु भयो । एउटा रिट पारियो । एकल इजलासबाट संवैधानिक इजलास रोकियो । कानुनले नदिएको अधिकार प्रयोग गरेकोमा बारले ध्यानाकर्षण गरायो । संवैधानिक इजलासमा लैजाने बार र बेञ्चको बैठकमा भन्नुभएको थियो तर पछाडि हट्नु भयो ।’

यस्तै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानन्यायाधीश राणाले भ्रष्टाचार र अन्याय बढाएर न्याय अधोगतितिर लगेको आरोप लगाउनुभयो । उहाँले प्रधानन्यायाधीशलाई बुधबारसम्म राजीनामा दिन र त्यही नै सम्मानजनक हुने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी सडकमा आउन नपरोस् ।’

नेपाल बारका चण्डेश्वर श्रेष्ठले न्याय अवरुद्ध र विचलनमा रहेको बतानुभयो । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै भइरहेको वकिलको आन्दोलनलाई सम्बोधन गर्दै उहाँले तत्काल प्रधानन्यायाधीशको राजीनामा आउनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँ पदमा जति बस्नु हुन्छ त्यति नै न्यायालय धरासायी हुन्छ । न्यायापालिकालाई विवादित बनाउने काम प्रधानन्यायाधीशले गर्नु भयो । राजीनामा नआए भोलिदेखि हामी सडकमा आउँछौँ ।’