काठमाडौं – प्रधानन्यायाधीश–न्यायाधीशको विवादले लगातार न्यायसेवा प्रभावित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मङ्गलबारका लागि पनि बन्दीप्रत्यक्षीकरण निवेदनको मात्रै पेशी तोकेका छन् ।

मङगलबारका लागि तोकिएको पेशी अनुसार प्रधानन्यायाधीश राणाले आफ्ना लागि इजलास गठन गर्नुभएको छैन् । सोमबारदेखि सर्वोच्च अदालतमा समानधानको मध्यमार्गी बाटो भन्दै बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको छैन । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गर्दै आउनुभएको थियो । तर मध्यमार्गी बाटो भन्दै सोमबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदनमा मात्रै पेशी तोकिन थालिँदा न्यायसेवा थप प्रभावित भएको हो ।

बन्दीप्रत्यक्षीकरणको मात्रै निवेदनको सुनुवाइ गर्दा सर्वोच्चमा नियमति सुनुवाइ भने प्रभावित भएको छ । यो हप्ता नियमित सुनुवाइ हुनुपर्ने जनताका १ सय ८१ थान मूल मुद्दा प्रभावित भएका हुन् । ती मुद्दासँग जोडिएको अरु लगाउ प्रकृतिका दर्जनौँ मुद्दाको पनि सुनुवाइ रोकिएको छ ।