काठमाडौं – आजबाट हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । आज यमपञ्चक तिहारको पहिलो दिन कागको पुजा गरिन्छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपाली दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार हो ।

मङ्गलबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेकोे छ। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ ।

बुधबार बिहान ७ ः १४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान ७ ः १४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवं मीठा खानेकुरा खान दिने दिन पनि बुधबार नै परेको हो । समितिका अध्यक्ष प्रा. अधिकार ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यता अनुसार यस्तो निर्णय गरिएको हो’ भन्नुहुन्छ ।
यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण काग र कुकुर तिहार बुधबार एकै दिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाको दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गर्नुपर्छ । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक १९ गते शुक्रबार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय परम्परा छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको हो । यसै दिनदेखि नेपाल संवत् ११४२ शुरु हुन्छ ।
यमपञ्चकको अन्तिम दिन भाइटिकामा दिदी बहिनीहरुले दाजु भाइहरुलाई टिका लगाइदिए पछि तिहा रको समापन हुन्छ । तिहार विशेष पर्व भएकाले धुमधामका साथ, देउसी भैलो खेलेर रमाइलो गरेर मनाउने चलन आदिमकालदेखि चलिआएको छ । । तिहारमा सेलरोटी, पिनी, अनरसा जस्ता विभिन्न किसिमका मिठा परिकारहरु बनाएर दाजुभाइलाई दिदीपहिनीहरुले खुवाउने गरिन्छ । तिहारलाई फुलको रङ्गीन पर्व पनि भन्ने गर्दछन् ।तिहारमा घरभरी बत्तिबाल्ने झिलिमिला बनाउने, शयपत्रि फुलले घरका ढोका, झ्यालहरु सिंगारर्ने, गाउँघरमा कमेरा, रातो माटोले घरहरु चिटिक्क पार्ने गरिन्छ ।